सीएनआईवाईएफ लुम्बिनीद्वारा “Hypershow बजेट, मौद्रिक र आर्थिक नीति” विषयक एकदिने कार्यक्रम सम्पन्न

by समतल अनलाइन
46Shares

बुटवल । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईएफ) लुम्बिनीको आयोजनामा “Hypershow बजेट, मौद्रिक र आर्थिक नीति” विषयमा एकदिने कार्यक्रम बुटवलमा सफलतापूर्वक सम्पन्न भएको छ । युवा उद्यमीहरूका लागि नीति, बजेट र मौद्रिक व्यवस्थापन सम्बन्धी ज्ञान साझा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले प्रदेशका उद्यमी तथा सरोकारवालाहरूको ध्यानाकर्षण गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. दिल्ली राज अर्यालले विशेष मन्तव्य व्यक्त गर्दै बजेट तथा मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि योजना र रणनीतिमा समन्वय आवश्यक रहेको बताएका थिए। साथै, नेपाल राष्ट्र बैंकका निर्देशक जीवन प्रकाश पाण्डेले मौद्रिक नीतिका विभिन्न आयाम र त्यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे जानकारी गराएका थिए ।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेल, सिद्धार्थनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी र आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि बश्यालले कर र भन्सार नीतिको समसामयिक अवस्थाबारे छलफल गरेका थिए । सहभागीहरूले प्रस्तुत गरेका प्रश्नहरूलाई जवाफ दिने क्रममा विषयवस्तुलाई अझ स्पष्ट बनाइएको थियो ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोरा, रुपन्देही उद्योग सङ्घका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद सापकोटा, लर्निङ चेयर (सीएनआईवाईएफ) लुम्बिनीका विकास पाण्डे लगायतका धेरै उद्यमी र प्रतिनिधिहरूले कार्यक्रममा सहभागिता जनाएका थिए । स्वागत मन्तव्य विकास पाण्डेले दिएका थिए भने कार्यक्रमको अध्यक्षता लुम्बिनी मञ्चका अध्यक्ष राजन कसजुले गरेका थिए ।

कार्यक्रमले प्रदेशका युवा उद्यमीहरूलाई बजेट, मौद्रिक नीति र आर्थिक नीतिको ज्ञान प्रदान गर्दै उद्यमशीलता प्रवर्द्धनमा नयाँ दृष्टिकोण थपेको आयोजकहरूले बताएका छन् । यस प्रकारका कार्यक्रमहरूले प्रदेशको आर्थिक विकास र स्थानीय उद्यमशीलताको सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

You may also like