बुटवल । भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न सरकारले पुनः छुटैछुटका सुविधाहरू ल्याएको छ । अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएका यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संचालनमा आउन नसकेर लगानीको औचित्यमाथि प्रश्न उठ्न थालेपछि सरकारले यस खालको सुविधाको घोषणा गरेको हो ।
यि दुइ बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्दा पाइने सुविधा तथा छुटका वारेमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०८१ साउन २८ गते स्वीकृत गरेको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्य योजना’ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन दिन अघि एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
मन्त्रालयले गत शुक्रवार यस वारेमा प्रेस बिज्ञप्ती जारी गर्दै यि दुवै बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवद्र्धन गर्न २०८३ भदौ मसान्तसम्मका लागि छुटैछुटका सुविधाहरू दिने घोषणा गरेको हो । पहिलो छुट सुविधामा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैया यात्रु सेवा शुल्क पूर्ण रूपमा छुट गर्ने भनिएको छ ।
दोस्रोमा दुवै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा छुट गर्ने सुविधा दिने भनिएको छ भने तेस्रोमा अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको १ हजार पर्यटन शुल्क पूर्ण रूपमा छुट गर्ने उल्लेख छ ।
चौथो छुट सुविधामा दुवै विमानस्थलमा लाग्दै आएको अन्तर्राष्ट्रिय हवाई उडानमा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइने भएको छ । यि दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि सरकारले यस भन्दा अघि पनि विभिन्न खाले सुविधा तथा छुट दिएको थियो ।