बुटवल।नेपाल तरुण दल क्षेत्र नम्बर २ रुपन्देहीले शुक्रबार वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले वृक्षारोपणको महत्व, उद्देश्य तथा यसको दीर्घकालीन फाइदाबारे चर्चा गर्दै वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल तरुण दल क्षेत्र नम्बर २ का सभापति हसन्त लामाले वातावरण संरक्षणका साथै तरुणहरूलाई एकजुट बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए। उनले वृक्षारोपणले मात्र हरियाली सिर्जना नभई भविष्यका पुस्ताका लागि अमूल्य सम्पदा निर्माण हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, नेपाली कांग्रेस बुटवलका नगर उपाध्यक्ष ज्योती भण्डारी, नगर सचिव छाया पोख्रेल, नेपाल तरुण दल केन्द्रीय सदस्य अजय रावल, कांग्रेस महाधिवेशन प्रतिनिधि महेश थैव, तरुण दल नगर सभापति सुजन पुन, प्रेस युनियनका जिल्ला अध्यक्ष कबिन्द्र नेपाल, नेपाल किसान संघका जिल्ला अध्यक्ष राजन क्षेत्री, नेपाली कांग्रेस बुटवल–६ का वडा अध्यक्ष तारा ज्ञवाली, नेविसंघका जिल्ला अध्यक्ष सन्दिप पाण्डे, केन्द्रीय सदस्य बलाराम पौडेल, जनप्रतिनिधि तथा तरुण नेता अशोक राई, आदिवासी जनजाति युवा महासंघ केन्द्रीय सचिव अर्जुन गुरुङ, नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस सभापति सिद्धार्थ श्रेष्ठ, दुर्गामन्दिर व्यवस्थापन समिति अध्यक्ष चिन बहादुर थापा लगायतले आफ्ना मन्तव्य राखेका थिए।
कार्यक्रममा आँप, जामुन, बेलौती लगायत तराई क्षेत्रका फलफूलका १०० भन्दा बढी बिरुवा रोपिएका थिए।
स्वागत मन्तव्य नेपाल तरुण दल बुटवल उपमहानगरपालिका नगर सभापति सुजन पुनले राखेका थिए भने कार्यक्रमको सफल सञ्चालन क्षेत्रीय सचिव कृष्ण भण्डारीले गरेका थिए।
वृक्षारोपण कार्यक्रममा नेपाली कांग्रेस, तरुण दल, नेविसंघ, किसान संघका पदाधिकारी उल्लेखनीय उपस्थिति रहेको थियो।