काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ । आज (बिहीबार) बसेको महासंघको बैठकले भदौ ३ र ४ गते बस्ने गरी बैठक बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेको भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ । उनले भने, ‘आन्दोलनको कार्यक्रम आन्दोलन परिचाल समितिले खाका तयार गर्छ । राष्ट्रिय समितिले पारित गरेपछि दोस्रो साताको सुरुबाटै गर्नेगरी सार्वजनिक गर्छौ ।’
उनले अहिले बाहिर चर्चामा रहेको विषयहरु भएको सहमति र शिक्षकहरुको पक्षमा आउने नदेखिएको पनि बताएका छन् । बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समिक्षा गरिएको उनले जानकारी दिएका छन् ।
समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुनेगरी र विद्यालय शिक्षाका समस्या समाधान गर्नेगरी विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताए । समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघको बैठक आज बसेको थियो ।
महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरिरहेको समयमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ ।
समिति बैठकबाट नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने प्रस्ताव पारित भएको छ भने शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।
यसैगरी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ । आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको हो ।