रुपन्देही । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले संगठनका दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
संघको साउन १९ गते सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले लुम्बिनी प्रदेशका तत्कालीन अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवान्तिका राईलाई संगठनको विधानअनुसार कारबाही गर्दै पार्टी सदस्यता खारेज गर्न समेत सिफारिस गरेको हो।
यसअघि साउन १० मा पार्टीविरोधी गतिविधि गरेको र आर्थिक अनियमितता गरेको भन्दै उनीहरुलाई निलम्बन गरेपछि पनि उनीहरुले चित्तबुझ्दो जवाफ नदिएको र नेताहरुलाई गालीगलौज गर्ने र मिडियाबाट अर्नगल प्रचार नरोकेका कारणउनीहरुलाई साधारण सदस्यबाट हटाइएको युवासंघले जनाएको छ ।
संगठनले उनीहरूलाई कुनै नेताप्रति पक्षधर भएको वा गुटगत कारणले नभई अनुशासनहीनता, ठगी, आर्थिक अपचलन र संगठन विरोधी गतिविधिका कारण कारबाही गरिएको स्पष्ट पारेको छ ।
सुरज खरेलमाथि महाधिवेशनका अध्यक्षमण्डल सदस्यहरूमाथि अभद्र व्यवहार, गालिगलौज र ज्यान मार्ने धम्की दिएको, पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार गरेको तथा विधानविपरीत प्रदेश सचिवालय बैठक बोलाई कमिटी पुनर्गठनको प्रयास गरेको आरोप छ ।
उनीमाथि पटक–पटक सचेत गराउँदा पनि नमानिएको भन्दै कारबाही गरिएको हो । खरेल रुपन्देहीको देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् ।
त्यस्तै, इलामकी युवान्तिका राईमाथि भने सरकारी कोटामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको ठगीसम्बन्धी उजुरी परेपछि कारबाही गरिएको हो ।
संगठनका अनुसार उनले प्रधानमन्त्रीको छोरी हुँ भन्दै विदेश पठाउने प्रलोभनमा ३ लाख ५० हजार रुपैयाँ लिएको पुष्टि उजुरी र प्रमाणले गरेपछि कारबाही गरिएको हो । नागरिकता प्रकरण समेत चितवन जिल्ला अदालतमा विचाराधीन रहेको जनाइएको छ ।
युवा संघका प्रवक्ता निरोज पौडेलले कारबाही पूर्णतः विधि र विधान अनुसार भएको प्रष्ट पार्दै व्यक्तिगत गोपनीयताको संरक्षण गर्दै सचेत गराउने नेतृत्वको सदाशयतालाई कमजोरी ठानेर झन् संगठन र पार्टीविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।
‘पार्टी र नेतृत्वमाथि लाञ्छना लगाउँदै कपोलकल्पित आरोप फैलाउने कार्य गम्भीर राजनीतिक विचलन हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘संगठनको अनुशासन, हित र गरिमा कायम राख्न बाध्य भएर कारबाही गरिएको हो ।’