क्याननका राजेशको ३.९६ जिपिए, नेपाल टप दाबी गर्दै सम्मान

by समतल अनलाइन
130Shares

बुटवल। बुटवलको क्यानन सेकेन्डरी स्कुलका विद्यार्थी राजेश पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेका छन्। विज्ञान संकायबाट अध्ययन गरेका राजेशलाई विद्यालयले ‘नेपाल टप’ दाबी गर्दै नगद १५ हजार रुपैयाँसहित विशेष सम्मान गरेको छ।

कपिलवस्तु घर भई कक्षा ११ र १२ क्याननमा अध्ययन गरेका राजेशले आफ्नो सफलताको श्रेय विद्यालयको शिक्षण शैली, व्यक्तिगत मार्गदर्शन र आफ्नै निरन्तर मेहनतलाई दिएका छन्। “यहाँ विद्यार्थीको संख्या कम भए पनि हेरचाह राम्रो छ। मेहनत गरे फल पाइन्छ भन्ने कुरा मैले यहाँ आएर अनुभव गरें,” उनले भने।

सम्मान कार्यक्रममा राजेशले अबको लक्ष्य नेपालमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने रहेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलका अनुसार सन् २०५३ सालमा निजी क्षेत्रको पहलमा स्थापना भएको क्यानन सेकेन्डरी स्कुलले गुणस्तरीय र व्यवहारिक शिक्षामा विशेष ध्यान दिँदै आएको छ। “हामी शिक्षालाई आयआर्जनसँग जोड्ने लक्ष्यसहित नयाँ योजना अघि बढाउँदैछौं,” उनले बताए।

विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले प्रविधिमैत्री शिक्षण पद्धति अवलम्बन गरिएको जनाए। “हामीले प्रत्येक कक्षामा स्मार्ट बोर्ड र डिजिटल पूर्वाधार निर्माण गरेका छौं। शिक्षामा सुधार ल्याउन निरन्तर प्रयास गर्दै आएका छौं,” उनले भने।

उनका अनुसार यस वर्ष कक्षा १२ मा विज्ञान र व्यवस्थापन संकायमा गरी १९९ विद्यार्थी सहभागी भए, जसमा विज्ञानतर्फ २९ जनाले १०० प्रतिशत सफलता हासिल गरे। व्यवस्थापनतर्फ १२० जनामध्ये ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भए।

विद्यालयका सह–प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले विद्यालयले व्यावसायिक अभ्यास र इन्टर्नसिपमा पनि जोड दिएको जानकारी दिए। “डिम्याट खाता खोल्ने, आईपीओ आवेदन दिने, बीमा योजना बुझाउनेदेखि होटल म्यानेजमेन्टका विद्यार्थीलाई रोजगारीसमेत दिलाएका छौं,” उनले बताए।

उनका अनुसार गत वर्ष “डिजाइन थिङ्किङ” कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ अभियानमा समावेश गरिएको थियो।

You may also like