१२ वर्षमै क्यूएए मान्यता प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक क्याम्पस बन्यो कालिका

by समतल अनलाइन
193Shares

बुटवल कालिका क्याम्पसलाई ‘क्यूएए’ प्रमाणपत्र, सामुदायिक क्याम्पसका लागि ऐतिहासिक उपलब्धि

बुटवल । स्थापनाको छोटो अवधिमै उल्लेखनीय शैक्षिक प्रगति हासिल गर्दै आएको बुटवलको कालिका क्याम्पसले गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) द्वारा तोकिएका सम्पूर्ण मापदण्डहरु सफलतापूर्वक पूरा गर्दै साउन १६ गते औपचारिक रूपमा क्यूएए मान्यता पाएको हो।

क्याम्पस प्रमुख घनश्याम पाठकका अनुसार यो प्रमाणपत्रले क्याम्पसको शैक्षिक यात्रामा नयाँ युगको सुरुवात गराएको छ। “क्यूएएले क्याम्पसलाई अझ जिम्मेवार, पारदर्शी, तथा अन्तर्राष्ट्रिय स्तरको शिक्षालय बनाउने दिशामा उत्प्रेरणा दिएको छ,” पाठकले भने।

विसं २०७० मा रामनगरस्थित कालिका माविको भवनबाट ३५ जना विद्यार्थीसहित शुरू भएको कालिका क्याम्पस हाल आफ्नै प्रशस्त भौतिक संरचना भएको भवनमा सञ्चालनमा छ, जहाँ हाल ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामीले पछिल्लो दशकमा क्याम्पसले पूर्वाधार, प्रशासन, शैक्षिक गुणस्तर र वित्तीय पारदर्शिताका क्षेत्रहरूमा उल्लेखनीय सुधार गरेको बताए। यिनै आधारमा क्याम्पसले क्यूएए प्रक्रिया सफलतापूर्वक पूरा गर्न सकेको उनको भनाइ छ।

कालिका क्याम्पस नेपालकै पहिलो सामुदायिक क्याम्पस बनेको छ, जसले स्थापना भएको १२ वर्षमै क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो। यस अवसरमा बुधबार क्याम्पसमा आयोजित विशेष कार्यक्रममा स्थानीय प्रतिनिधि, विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई पश्चिम नेपालको शैक्षिक केन्द्र बनाउने यात्रामा कालिका क्याम्पसको योगदान उल्लेखनीय रहेको बताए। “दक्ष जनशक्ति उत्पादनमा क्याम्पसको भूमिका महत्वपूर्ण रहँदै आएको छ,” उनले भने।

मेयर पाण्डेयले समयसापेक्ष र व्यवहारिक शिक्षा प्रदान गर्न क्याम्पसले नयाँ कोर्षहरू थप्दै जानुपर्ने आवश्यकता पनि औंल्याए। हाल क्याम्पसमा बीबीएस, बीसीए, बीएड लगायतका स्नातक तहका विषयहरू सञ्चालनमा छन् भने स्नातकोत्तर तहमा ग्रामीण विकास (आरडी) र अंग्रेजी विषयमा पढाइ हुँदै आएको छ। यसै शैक्षिक सत्रदेखि क्याम्पसले एमबीए कार्यक्रम सुरू गर्ने तयारी पनि गरिरहेको छ।

You may also like

This will close in 0 seconds