शिद्धबाबामा पहिरो पन्छाइएपछि बुटवल–पाल्पा सडक सञ्चालनमा

by समतल अनलाइन
35Shares

बुटवल ।अविरल वर्षाका कारण खसेको पहिरो पन्छाएपछि बुटवल–पाल्पा सडकखण्ड फेरि सञ्चालनमा आएको छ। तिनाउ गाउँपालिका–३ स्थित शिद्धबाबा मन्दिर नजिक सडक माथिबाट खसेको पहिरोका कारण सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी, बुटवलका अनुसार सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडक दुबैतर्फ बन्द भएको थियो। सोही दिन बेलुकी ११ बजेदेखि फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो।

माटो, ढुंगा र ठूला चट्टानसहितको पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो। लगातार प्रयासपछि सोमबार साँझ सवा ४ बजेतिर सडक एकतर्फी रूपमा खुलाइएको र त्यसपछि दुबैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

सडक सञ्चालनमा आए पनि पहिरो खस्ने सम्भावना कायमै रहेको हुँदा सतर्कता अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। सो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको र वर्षा भइरहेको अवस्थामा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

You may also like