चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

by समतल अनलाइन
64Shares

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ ।

जसको प्रभावले अहिले देशका अधिकांश स्थानमा बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर अधिकांश बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

दाङ, बाँके र बर्दियामा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेमा १६० मिलिमिटर, दाङमा १५६ मिलिमिटर र बर्दियामा १४३ मिलिमिटर पानी परेको छ । ती ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

दाङ र बाँकेको गंगदी, जलकुन्डी, कुसुम, सिक्टा आसपास, बाँकेको खजुरा र बेलभर आसपास तथा बर्दियाको बबई र मानपुर आसपासमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति मधेश प्रदेशसहित अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

You may also like