काठमाडौं । १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप ३ जनालाई पनि धरौटीमा छाड्न आदेश भएको छ ।
उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंसँगै अरू ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी मागेको छ ।
दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरेको छ । राजसंस्थाको पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा सबिन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
कम्तीमा १९ जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौं घाइते भएका थिए ।
घटनापछि प्रहरीले आन्दोलनका नेतृत्व गरेकाहरुलाई पक्राउ गरेको थियो । दुर्गा प्रसाईं चाहिँ भागेर भारत पुगेका थिए । प्रहरीले उनले त्यहीँबाट पक्राउ गरेर ल्याएर राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुर गरेको आरोपमा अनुसन्धान थालेको थियो ।