सिद्धबाबा सडक खण्ड दुईतर्फी खुल्यो

by समतल अनलाइन
78Shares

बुटवल। निरन्तर वर्षाका कारण सोमबार बिहान अवरुद्ध भएको पाल्पाको सिद्धबाबा क्षेत्र अन्तर्गतको सिद्धार्थ राजमार्ग अब पुनः दुईतर्फी सञ्चालनमा आएको छ । बिहानको समयमा सडकको तीन स्थानमा ढुङ्गा खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सुरक्षाकर्मी, स्थानीय निकाय र सडक डिभिजनको समन्वयमा जेसीबी प्रयोग गरी ढुङ्गा पन्छाउने काम गरिएको हो । झण्डै केही घण्टासम्मको प्रयासपछि राजमार्ग दुईतर्फी खोलिएको जनाइएको छ ।

सडक अवरुद्ध हुँदा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधन दोभानमा र बुटवलबाट पाल्पातर्फ जाने गाडीहरू गोलपार्क क्षेत्रमा रोकिएका थिए ।

दोभान प्रहरी चौकीका इन्चार्ज सही रोमबहादुर केसीका अनुसार, अवरुद्ध स्थानमा अहिले पनि सामान्य जोखिम रहेकाले यात्रुहरूले सतर्कता अपनाउनुपर्ने आवश्यकता छ ।

यस क्षेत्र पहिरोप्रवण भएकाले निरन्तरको वर्षाले जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ । अत्यावश्यक कामबाहेकको यात्रामा सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

You may also like