गुल्मीका तीन मुख्य सडक अवरुद्ध, दुई सयभन्दा बढी क्षेत्र उच्च जोखिममा

by समतल अनलाइन
132Shares

गुल्मी ।पछिल्लो २४ घण्टाको लगातार वर्षाले गुल्मी जिल्लाका तीनवटा मुख्य सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडकखण्डमा ठूला पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

कालीगण्डकी करिडोर अन्तर्गत कालीगण्डकी गाउँपालिका–१ को गरगरे, वडा नम्बर–२ को मिल्क र वडा नम्बर–३ स्थित कनौटामा सडकमा ठूला चट्टानसहित पहिरो खसेको छ। यस्तै, रिडी–तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पनि पहिरो खसेपछि बाटो बन्द भएको हो।

त्यसैगरी, रिडी–वामीटक्सार सडक अन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरे खोला र वडा नम्बर–५ को बादरेभीरमा बाढी र पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षा अझै जारी रहेकाले तत्काल सडक खुलाउने सम्भावना न्यून रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यी सडकहरू पटक–पटक बन्द हुँदा स्थानीयवासीले नियमित रूपमा सास्ती भोग्दै आएका छन्।

अविरल वर्षाका कारण बडिगाड खोलाको पानीको सतह पनि बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले खोलातटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा सारिन आग्रह गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अनुसार जिल्लाभित्रका करिब २ सयभन्दा बढी स्थानहरू बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन्।

You may also like