बुटवल ।पछिल्लो २४ घण्टामा देशभरका धेरै स्थानमा मध्यमदेखि अत्यधिक वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अर्घाखाँचीमा सबैभन्दा धेरै ११४.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
विभागका अनुसार समाचार तयार पार्दासम्म दाङमा १०२.४, नवलपरासीमा १०५.६ र रुपन्देहीमा १०१.८ मिलिमिटर वर्षा मापन गरिएको छ। २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु ‘धेरै भारी वर्षा’ को श्रेणीमा पर्छ।
यस्तै लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि उल्लेखनीय वर्षा भएको छ। यी जिल्लामा करिब ९० मिलिमिटर वर्षा मापन गरिएको छ। ५० देखि १०० मिलिमिटर वर्षा ‘भारी वर्षा’ को सूचक हो।
आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको विभागले जनाएको छ। ती क्षेत्रमा वर्षा अझै जारी रहेको जानकारी दिइएको छ।
मौसम विभागले आज पनि अधिकांश स्थानहरूमा आंशिकदेखि पूर्ण बदली रहने र मेघगर्जन तथा चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको पूर्वानुमान गरेको छ।