भैरहवा।युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवाको ‘दिक्षान्त समारोह २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि तथा युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पी.एस.ले नवदिक्षित विद्यार्थीहरूलाई बधाई दिंदै चिकित्सक पेशा केवल व्यवसाय नभई मानवीय, सामाजिक र नैतिक दायित्वको उच्च उदाहरण भएको उल्लेख गरे। उनले भने, “आजका तपाईंहरू चिकित्सक मात्र होइन, भोलिको राष्ट्रका गहना पनि हौँ। तपाईंहरूको व्यवहार, सेवा भावना र निष्ठाले मानव जीवनमा नयाँ आशा दिनुपर्छ।”
समारोहमा २१ औं ब्याचका एमबीबीएस तथा १८ औं ब्याचका बीडीएस गरी जम्मा ११४ जना विद्यार्थीहरूले दिक्षा प्राप्त गरेका थिए।
प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले नवदिक्षित विद्यार्थीहरूलाई हिपोक्रेटिक ओथ(चिकित्सकीय सपथ) गराउँदै आफ्नो पेशामा इमान्दार, संवेदनशील र उत्तरदायी बन्न प्रेरित गरिन्। विद्यार्थीहरूले मानव सेवामा पूर्ण निष्ठा र समर्पणका साथ कार्य गर्ने वाचा गरेका थिए।
कार्यक्रममा सह–प्राचार्य प्रा.डा. हेमन्त हलुवाई,मेडिकल सुपरीटेन्डेन्ट प्रा.डा. साधन मुखी,इन्टर्नसीप को–अर्डिनेटर डा. रमेशराज विष्ट, डा. सन्जित कर, डा. दीपक यादव, डा. जिज्ञाशा सुवेदी, प्रमुख वित्त अधिकृत सुरज पौडेल, **सहायक प्रशासक प्रेमा गुरुङ र प्रशासन संयोजक तेज कुमार के.सी. लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।
प्रमाणपत्र वितरण कार्यक्रम प्राचार्य पाठक, सह–प्राचार्य हलुवाई र मेडिकल सुपरीटेन्डेन्ट मुखीले संयुक्त रूपमा गरेका थिए। समारोहमा दिक्षा थडराई, अनिमेष चौधरी, खुशी तिवारी र फिजा रानाले पनि विद्यार्थीको तर्फबाट मन्तव्य प्रस्तुत गर्दै अनुभव तथा भावनाहरू साझा गरे।
साँस्कृतिक कार्यक्रमले समारोहलाई झनै रमाइलो बनायो, जहाँ विद्यार्थीहरूले गीत, नृत्य र विविध प्रस्तुतीमार्फत अतिथिहरूलाई मनोरञ्जन प्रदान गरे।
वि.सं. २०५४ सालमा स्थापना भएको युसीएमएस शिक्षण अस्पतालले हालसम्म एमबीबीएसमा २,१६३ जना र बीडीएसमा ७१३ जना गरी कुल २,८७६ जना चिकित्सकहरू उत्पादन गरिसकेको छ। संस्थाले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा निरन्तर योगदान दिँदै आइरहेको छ।