सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रममा एक साँझ

by समतल अनलाइन
367Shares

सन्तोष मल्ल
अझै पनि असल मन भएका मान्छेहरू छन् भन्ने अनुभूति मलाई आज साँझ पुनः एक पटक भयो।

आजको दिन, श्रावण १६ गते, मैले बुटवल–२ स्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रम को एक स्मरणीय भ्रमण गरें। यो आश्रम वडानम्बर २ को कार्यालयको छेउमै छ। नामबाटै प्रष्ट हुन्छ—यसको स्थापना र उद्देश्य गहिरो सामाजिक, धार्मिक र पारिवारिक भावनासँग गाँसिएको छ।

श्री गणेशमान सैंजुज्यूको पहिलो सपना सिद्धबाबा क्षेत्रमै आश्रम खोल्ने थियो। तर त्यहाँको जोखिमपूर्ण वातावरणले गर्दा त्यो योजना छाड्नु पर्यो। त्यसपछि मोतिपुरमा ल्याउने सोच भयो, तर त्यो स्थान पनि वृद्धबुवाआमाका लागि अस्पताल नजिक नपर्ने, अलिक टाढा र असहज लाग्ने ठहर भयो। अन्ततः हालको स्थानमा आश्रम बनाउने निर्णय गरियो—जहाँ पहिला दुर्गा भवानीको मन्दिर थियो। कानुनी र कागजी प्रक्रिया निकै जटिल भए पनि, नगर प्रमुख पुनाराम पोखरेलको कार्यकालमा जग्गा व्यवस्था गर्न सहयोग मिल्यो। स्व. लालकुमार आमात्यज्यूले यसमा मुख्य भूमिका खेल्नुभयो। गणेशमान सैंजुकी दिदी शिवकुमारी सैंजुको नाममा पहिले नै एक सानो ट्रस्ट थियो, जुन यस संस्थासँग मिसिएर आजको सशक्त वृद्धाश्रमको रूप लिएको छ।

हिजो श्रावण १५ गते, बुटवलको विश्व हिन्दू महासंघमा श्री गणेशमान सैंजुको ९३ औँ जन्मजयन्ती र उनकी धर्मपत्नी श्रीमती कृष्णप्यारी सैंजुको ९२ औँ जन्मवार्षिकी भव्य रूपमा मनाइएको थियो। कार्यक्रम व्यवस्थित र भव्य थियो। अनूपमान सैंजु, जो उहाँहरूको सुपुत्र हुनुहुन्छ, र हाल साझा समितिको कोषाध्यक्ष हुनुहुन्छ—उहाँले आफ्नो पिताजीको सपना र सेवा भावनालाई निरन्तरता दिइरहनुभएको छ। धेरै साहित्यकार, धर्मगुरुहरूले उहाँलाई ‘कलियुगका श्रवण कुमार’ पनि भन्न थालेका छन्।
आज साँझ म अनूप दाइ र भाउजू रारा सैंजुसँग वृद्धाश्रम पुगेँ। रारा भाउजू ‘मिलिजुली परिवार’ अभियानबाट निकै चर्चित हुनुहुन्छ, जसको सुरुवात सामाजिक सञ्जाल (टिकटक) बाट भएको थियो। आश्रम पुग्दा उहाँहरू पहिल्यै त्यहाँ पुगिसक्नुभएको रहेछ र पूजामा व्यस्त हुनुहुन्थ्यो। पूजास्थलमा श्री गणेशमान सैंजुको मूर्ति र तस्बिर अगाडि दियो बालिएको थियो। अत्यन्त शान्त वातावरण थियो।

आश्रमभित्र वृद्ध बुवाआमाहरू आरामदायी मुद्रामा बसेका थिए। उहाँहरू अनूप दाइ र भाउजूलाई देखेर निकै खुसी देखिनुहुन्थ्यो। मलाई पछि थाहा भयो—हरेक वर्ष श्रावण १६ मा अनूप दाइ र भाउजू आश्रममा आउनुहुन्छ, पूजा गर्नुहुन्छ, भोजन गराउनुहुन्छ र सबैसँग आत्मीयता बाँड्नुहुन्छ।
रारा भाउजू, सम्पन्न परिवारकी बुहारी हुँदाहुँदै पनि, आश्रमका हरेक कुरामा सक्रिय हुनुहुन्थ्यो। वृद्धबुवाआमाको लागि भान्साको व्यवस्थादेखि लिएर, सानो-सानो चिजमा पनि उहाँको स्नेह र माया झल्किरहेको थियो। मलाई लाग्यो—घरलाई जस्तै माया गरेर उहाँ यो स्थान हेर्नुहुन्छ।
केहीबेरपछि अनूप दाइले मलाई भन्नुभयो,
“हामी यहाँ आउने हरेक आमाबुबाको कागजात हेर्छौं। यदि घरायसी विवादका कारण आउनुभएको हो भने, प्रशासनसँग समन्वय गरेर समाधानको प्रयास गर्छौं।”
त्यसपछिको क्षण निकै आत्मीय थियो—दाइले सबै वृद्धबुवाआमालाई चकलेट, दक्षिणा र प्रसाद वितरण गर्नुभयो। मैले पनि त्यो पवित्र अनुभूति महसुस गरें। खाना तयार भएपछि भाउजूले सबैलाई भोजनमा सामेल हुन आग्रह गर्नुभयो। थालीमा परोसीएको खाना सन्तुलित, स्वादिलो र स्वस्थ थियो। मलाई लाग्यो, यही कारण यहाँका बुवा-आमा स्वस्थ र हँसमुख देखिन्छन्।
भोजनपश्चात म आश्रमको पूजा स्थानमा गएँ। त्यहाँको वातावरण एकदम शान्त र शुद्ध थियो। साँझको लगभग ७:३० बजेको थियो। हामी बाहिर निस्कन लाग्यौं। अनूप दाइ र भाउजूले एकएक जनासँग कुरा गर्दै, सबैको आवश्यकता बुझ्दै, फेरि एक पटक प्रार्थना गरेर मात्र बाहिर निस्कनुभयो।

म सबैभन्दा अन्तिममा बाहिर निस्किएँ। ढोकाबाट फर्किएर हेर्दा एकछिन मौन भएँ—मनमा एकै सोच आयो, “के साँच्चै पनि यस्ता असल मानिसहरू अझै बाँकी छन्?”
अनूप दाइ र रारा भाउजू—एक असल जोडी, सच्चा समाजसेवी र परिवारको अर्थ बुझ्ने मानिस।
मैले आफ्नो पुरानो स्कुटी स्टार्ट गरें। मन अलिक भावुक तर आशाले भरिएको थियो।
अझै पनि संसारमा असल मन भएका मान्छे छन्… र त यो संसार बाँकी छ।

You may also like

This will close in 0 seconds