माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि, के–के छन् एजेण्डा ?

by समतल अनलाइन
75Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शुक्रबार) शुरु हुँदैछ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो १ बजे शुरु हुने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकका लागि माओवादीले एजेन्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा तय गरेको थियो । पछिल्लो समय पार्टीभित्र चर्किँदै गएको अन्तरविरोध कसरी हल हुन्छ भन्ने विषयमा निकै चासोपूर्वक हेरिएको छ ।

चार दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ गर्ने, मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिनेबारे छलफल, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयका साथै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डा तय गरिएको छ ।

यस्तै पार्टीभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषयमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेको अवस्थामा यसबारे समेत बैठकमा छलफल हुनेछ । साउन १४ गते बसेको पदाधिकारी बैठकमा शर्मा लगायत पार्टीको नेतृत्वमाथि प्रश्न उठाउनेहरूमाथि कारबाही गर्नुपर्ने विषय समेत उठेको थियो ।

शर्मा, सुदन किरातीलगायत नेताले पार्टीलाई वैचारिक रूपमा सबल बनाउँदै युवा पुस्तामा नेतृत्व ल्याउनुपर्ने बताउँदै आएका छन् । केही दिनअघि मात्र शर्मा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सार्वजनिक आरोप प्रत्यारोप नै चलेको थियो । तर, प्रचण्डले भने पार्टीका सबै असन्तुष्टि हल भइसकेको दाबी गर्दै आएका छन् ।

You may also like