बुटवल।लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजनामा वृक्षारोपण तथा वातावरण सफाइ कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स अन्तर्राष्ट्रियको “पर्यावरण” अभियान अन्तर्गत भएको उक्त कार्यक्रम बुटवल–५ गोलपार्कस्थित क्लब पार्कमा आयोजना गरिएको हो।
बुधवार कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पार्क वरिपरि सरसफाइ गर्दै विभिन्न प्रजातिका बिरुवा रोपेका थिए। आयोजक संस्थाका अनुसार उक्त अवसरमा ५२ विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ।
कार्यक्रमको प्रमुख अतिथि एरिया ४ की चिफ लायन प्रविना धिमिरे रहनुभएको थियो भने विशिष्ट अतिथिमा जिल्ला सिनियर एडभाइजर तिलक सिंह कार्की, जोन चेयरपर्सन वलबहादुर गोडार, रिजन चेयरपर्सन लियो रविन सुनार, लियो हिमाल खनाल, लियो जीवन थापा क्षेत्री, लायन विष्णु कुवर, आईपीपी लायन उक्तम अर्याल, प्रथम उपाध्यक्ष कृष्ण बन्धु अर्याल, द्वितीय उपाध्यक्ष उमेश चन्द धिमिरे, तृतीय उपाध्यक्ष कृष्ण धिमिरे, कोषाध्यक्ष राजेन्द्र थापा लगायत क्लबका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लायन जमाल खान र लियो क्लबका कार्यवाहक अध्यक्ष लियो मोहित थापाले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रम सञ्चालन क्लबका सचिव रामबहादुर रसाइलीले गर्नुभएको थियो भने समन्वयको जिम्मेवारी लियो सुदीप ज्ञवाली र रियाज अहमदले लिनुभएको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष लियो मोहित थापाले हरेक रूख जीवनको आधार भएको उल्लेख गर्दै वृक्षारोपणलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै लायन्स क्लबका अध्यक्ष लायन जमाल खानले यस्ता अभियानहरू युवामा वातावरणप्रति जिम्मेवार भावना जागृत गराउने उल्लेख गर्दै “यस्ता अभियानहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउँछन् र भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्नुपर्छ,” भन्नुभयो।
कार्यक्रमका सहसंयोजक लियो सुदीप ज्ञवालीले बुटवल क्षेत्रलाई हरियाली बनाउने तथा वातावरणीय चेतना फैलाउने उद्देश्यसहित कार्यक्रम गरिएको जानकारी दिनुभयो। उहाँले यस्तो अभियानलाई निरन्तर र थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको पनि बताउनुभयो।