बुटवल।
बुटवल अटो इन्जिनियरिङ एशोसियसन, रुपन्देही-लुम्बिनीले आफ्नो स्थापना दिवसको अवसरमा सञ्चालन गरेका विविध रचनात्मक कार्यक्रमहरू सम्पन्न गरेको छ। साउन ४ गतेदेखि सुरु भएका कार्यक्रमहरू बिहीबार विशेष समारोहका साथ समापन गरिएको हो।
स्थापना दिवसको अवसरमा एशोसियसनले स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, ब्याडमिन्टन र फुटसल प्रतियोगिता जस्ता गतिविधिहरू सञ्चालन गरेको थियो। संस्थाका अध्यक्ष प्रेम गौचनका अनुसार साउन ६ गते वृक्षारोपण, ९ गते ब्याडमिन्टन र १९ गते फुटसल प्रतियोगिता सम्पन्न गरिएको थियो। उनले मैनाबगर अटो भिलेजलाई अझ आकर्षक बनाउने उद्देश्यले सौन्दर्यीकरणका कामहरू पनि भइरहेको जानकारी दिए।
समापन कार्यक्रममा बुटवल–२ का वडा अध्यक्ष सुनिल शाक्यले बुटवलको अटो भिलेजले नै बुटवलको छुट्टै पहिचान बनाएको बताउँदै गुणस्तरीय सेवा विस्तार गर्दै संस्थाले यो अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले वडाको बजेटबाट स्थानीय जनशक्तिको क्षमता अभिवृद्धि लगायतका योजनामा सहयोग हुने पनि बताए।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष खड्गबहादुर गौतमले स्थापना दिवसलाई संस्थाको जन्मदिनको रूपमा लिएर त्यस अनुरूपका उद्देश्यमा केन्द्रित हुँदै अघि बढ्नुपर्ने धारणा राखे।
नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका निवर्तमान अध्यक्ष जर्नादन गैरेले देशभरका अटो व्यवसायीलाई संगठित गर्ने काममा बुटवलले नेतृत्व गरिरहेको भन्दै महासंघको केन्द्रीय भवन बुटवलमै हुनु गौरवको विषय भएको उल्लेख गरे।
त्यस्तै, महासंघका सचिव तथा एशोसियसनका निवर्तमान अध्यक्ष तुल्सिराम न्यौपानेले संस्थाको सक्रियताले व्यवसायीहरूको समस्याहरू समाधानतर्फ उत्प्रेरणा मिलिरहेको बताए।
कार्यक्रममा प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न कार्यक्रम संयोजकहरूलाई पनि सम्मान गरिएको थियो। उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले अतिथिहरूलाई स्वागत गरेका थिए भने महासचिव पुनीत पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए।