काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र दोस्रोमा छन् । यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका अलराउण्डर रस्टन चेजको वरियता खस्किँदा दीपेन्द्र तेस्रोबाट दोस्रोमा उक्लिएका हुन् ।
नेपाली टोलीले डेढ महिनायता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसबीचमा हुने अन्य टोलीका खेलाडीहरूको प्रदर्शनले पनि अन्यको स्थानमा फेरबदल ल्याउने गर्छ ।
वेस्ट इन्डिजले भर्खरै मात्र अस्ट्रेलियासँग ५ खेलको टी-२० शृंखला खेलेको थियो जहाँ ५ वटै खेलमा पराजित हुँदा चेजको प्रदर्शन पनि राम्रो भएको थिएन । पहिलो खेलमा गरेको प्रदर्शनले दोस्रोमा उक्लिएका उनी त्यसपछि भने खराब प्रदर्शन गरे ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा हार्दिक पान्ड्या यथावत् छन् । तेस्रोमा अफगानिस्तानका मोहम्मद नाबी छन् भने चौथोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोन अनि पाँचौंमा वेस्ट इन्डिजका रोमारियो शेपहर्ड छन् । रस्टन चेज नवौं स्थानमा झरेका छन् ।
नेपालले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दैछ ।