पछिल्ला चार महिनामा २ हजार ४५६ विपद्, ९५ जनाको मृत्यु

by समतल अनलाइन
110Shares

काठमाडौं। गत वैशाखदेखि साउन दोस्रो सातासम्म देशभर विभिन्न प्रकारका विपद्‍जन्य २ हजार ४५६ घटना भएका छन्। विपद् व्यवस्थापन निकायका अनुसार यी घटनामा ९५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार उक्त अवधिमा एक हजार ११ वटा आगलागीका घटना भएका छन्। आगलागीका कारण १५ जनाले ज्यान गुमाएका छन् भने १४४ जना घाइते भएका छन्। आगलागीबाट एक हजार १२४ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।

त्यस्तै, चट्याङका २४३ घटना रेकर्ड गरिएका छन्। चट्याङ लागेर २८ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। यसले २८३ घरपरिवारलाई असर पु¥याएको छ।

सर्पदंशका ६६ घटनामा आठ जनाको ज्यान गएको छ भने ६४ जना घाइते भएका छन्। ७३ परिवार प्रभावित भएका छन्।
जनावर आक्रमणका १३४ घटनामा १२ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। यस्ता घटनाबाट २०६ परिवार प्रभावित भएका छन्।

त्यस्तै, हावाहुरीका २७६ घटनामा आठ जनाको मृत्यु भएको छ। पहिरोका २४१ घटनामा १२ जनाको ज्यान गएको छ।
लेक लागेर पनि १२ जनाको मृत्यु भएको छ।

केवल मंगलबार एकैदिन बाढीका आठ, पहिरोका १६, आगलागीका पाँच र जनावर आक्रमणका तीनवटा घटना भएको प्राधिकरणले जनाएको छ।

विपद्का यस्ता घटनाले जनधनमा ठूलो क्षति पुर्‍याइरहेको भन्दै प्राधिकरणले पूर्वतयारी र सचेतना कार्यक्रमलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याएको छ।

Comments

You may also like

This will close in 0 seconds