काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागपञ्चमीको शुभकामना दिदै नागपञ्चमी पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नागपञ्चमी प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप प्राचीन सभ्यताले नागपञ्चमीजस्तो पर्व उहिल्यै अपनाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
आज नागपञ्चमी: पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन । यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ । प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौं। प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ । आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्। यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ । सबैलाई नागपञ्चमीको शुभकामना !