बुटवलमा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण

by समतल अनलाइन
78Shares

बुटवल। बुटवलमा उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषका विषयमा अभिमुखिकरण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा सोमबार संघमा आवद्ध उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष बुटवल शाखाका कार्यालय प्रमुख केदार पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कोष, यसको स्थापना, उद्देश्य, सञ्चालन, योगदानकर्ता, योजना, आवद्ध हुने प्रकृया, प्राप्त हुने लाभ र आस्रित परिवारले पाउने सेवा सुविधा लगायतका विविध विषयमा जानकारी गराउनु भएको थियो ।

उहाँका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष श्रमिकको जीवनभरको सुरक्षाका लागि श्रमिक तथा रोजगारदाताले संयुक्त रूपमा योगदान गर्ने सरकारी योजना हो । जसमा योगदानकर्ता कामदारको नाममा मासिक तलवको ३१ प्रतिशतको दरले रकम जम्मा हुन्छ । त्यसमध्ये कामदारको तलवबाट ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्नुपर्ने उहाँले बताउनु भयो ।

त्यसवापत कोषले दुर्घटना विमा, स्वास्थ्योपचार, मातृत्व भत्ता, शिशु स्याहार भत्ता, घातक रोग उपचार खर्च, दीर्घकालिन पेन्सन लगायतका सेवा प्रदान गर्दछ । उक्त कोषमा औपचारिक, अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र वैदेशिक रोजगारदाता पनि यो कोषमा आवद्ध हुन सक्नेछन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि श्रमिकलाई भविश्यमा आईपर्ने संकटको सामना गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा र सुविधा समेत प्राप्त हुने भएकाले निम्न आय भएका व्यक्तिका लागि बलियो टेवा पुग्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘सरकारको स्वामित्वमा रहेका संस्थाहरू अझै पनि कोषमा नजाँदा चुनौती छ, तर निजी क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बुटवल उद्योग वाणिज्य संघ पहिलो संस्था हो ।’

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले साउथ एसियाको जिडिपिको आधारमा नेपालमा श्रमिकलाई दिईने न्यूनतम पारिश्रमिक एकदमै राम्रो रहेको र यहाँको महंगी लगायतका आधारमा ज्यादै न्यून रहेको बताउँदै यी दुई बिचको तारतम्य नमिल्दा युवाहरु विदेश पलायन भईरहेको भनाई राख्नुभयो । उहाँले सामाजिक सुरक्षा कोष श्रमिकको मात्रै नभई उद्योगी व्यवसायीहरुको समेत हितमा रहेको बताउँदै यसलाई अझै बैज्ञानिक बनाउन आवश्यक रहेको भनाई राख्नुभयो ।

त्यसैगरी संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई ट्रयाकमा ल्याउन धेरै कुराहरु सुधार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरुमा छोटो अवधि काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा कसरी जोड्ने, उद्योगी व्यवसायीलाई त्यसबाट कसरी लाभ दिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिईनुपर्ने भनाई राख्नुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्ति अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल लगायत पदाधिकारी सदस्य तथा बस्तुगत समितिका सभापति उपसभापतिहरुको सहभागिता रहेको थियो ।

Comments

You may also like