द्रुतमार्गको खोकना प्रवेशविन्दुमा देखिएको समस्या समाधानमा प्रधानमन्त्री ओलीको चासो

by समतल अनलाइन
93Shares

काठमाडौं। काठमाडौं–तराई–मधेस द्रुतमार्ग (एक्सप्रेसवे) आयोजना अन्तर्गत खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चासो व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारस्थित निवासमा सम्बन्धित मन्त्रीहरू र उच्च अधिकारीहरूसँग विशेष छलफल गर्दै आयोजनाको प्रवेश विन्दुका विषयमा देखिएको अन्योल समाधान गर्न निर्देशन दिएका हुन्।

हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका–२१ स्थित खोकनाको फुडोल क्षेत्रमा पर्नेछ। सो क्षेत्रमा नेवार समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेका कारण स्थानीयवासीले विरोध जनाउँदै आएका छन्।

प्रधानमन्त्रीको नेतृत्वमा भएको छलफलमा त्यस क्षेत्रको मौलिकता र सम्पदाको संरक्षणलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा गरिएको अध्ययन तथा सम्भावित विकल्पहरूबारे परामर्श गरिएको छ।

छलफलपछि प्रधानमन्त्री ओलीले “स्थानीयवासीको भावना र मागलाई सम्बोधन गर्दै आयोजना लामो समयसम्म अन्योलमा नराखी यथाशीघ्र अघि बढाउनुपर्ने” निर्देशन दिए।

छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देलसहित भौतिक पूर्वाधार तथा रक्षामन्त्रालयका सचिवहरूको उपस्थिति थियो।

You may also like