वीरगञ्ज महानगरपालिका सहित पर्सा जिल्लाका विभिन्न स्थानमा पछिल्लो समय देखिएको गम्भीर खानेपानी संकटलाई न्यूनीकरण गर्न नेपाली सेनाले अग्रसरता लिएको छ।
नेपाली सेनाको श्रीजङ्ग गणले मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएको पानी ट्याङ्करमार्फत दैनिक औसतमा एक लाख लिटर पानी वितरण गरिरहेको छ। सेनाले विशेष गरी पानीको अभाव अत्यधिक देखिएका बस्तीहरूमा लक्षित गरेर दिनको तीन पटकसम्म ट्याङ्करबाट पानी पु-याइरहेको छ।
श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार सेनाले हाल दैनिक छवटा ट्याङ्कर परिचालन गरी वीरगञ्ज महानगरका विभिन्न वडासहित पर्साका अन्य पालिकामा समेत पानी वितरण गर्दै आइरहेको छ।
“पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई राहत दिन हामीले बिहान, दिउँसो र साँझ गरी तीनपटक पानी वितरण गरिरहेका छौं,” सेनानी कार्कीले जानकारी दिए।
खानेपानीको आपूर्तिमा देखिएको संकटलाई सम्बोधन गर्न मधेश प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाबीच समन्वयमा पानी वितरणको व्यवस्था मिलाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालका अनुसार, हाल पानीको अभाव झेलेका बासिन्दाहरूबाट दिनरात फोन आउने गरेको छ। “हामीले मागको आधारमा ट्याङ्कर परिचालन गरी राहत पु-याइरहेका छौं,” प्रजिअ अर्यालले भने।
उनी भन्छन्, “अहिले जुन तहमा पानी वितरण भइरहेको छ, त्यसले धेरै हदसम्म आमनागरिकलाई राहत दिएको छ।”
गत साउन १ गतेदेखि नै खानेपानी ट्याङ्करमार्फत वितरण सुरु गरिएको हो। जिल्लामा साउन ५ गतेदेखि भने प्रशासनले तालिका बनाएर नियमित रूपमा पानी वितरण गरिरहेको छ।
हाल नेपाली सेनाले वीरगञ्ज महानगरका विभिन्न स्थानहरू—जसमा छपकैया, गायत्री टोल, शिक्षा कार्यालय पछाडि, राधेमाई, श्रीपुर, बहुअरीचोक, भिष्वा, राधेराधे कलोनी, रामगढवा, सुगौली विर्ता, हुसनजहान चोक लगायतका क्षेत्रहरूमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे गरी तीन पटक पानी पु-याइरहेको छ।
त्यस्तै, पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर र दक्षिणटोलमा दिनको दुई पटक—बिहान १० बजे र दिउँसो ४ बजे—पानी वितरण भइरहेको छ।
प्रजिअ अर्यालका अनुसार खानेपानीको संकट न्यूनीकरण नहुँदासम्म ट्याङ्कर वितरण कार्य जारी राखिने छ। उनले थपे, “संकट समाधानको प्रयास भैरहेको छ, तर तत्कालको लागि ट्याङ्करबाट वितरण नै प्रभावकारी उपाय हो।”