बुटवल।रुपन्देहीको भैरहवा स्थित डण्डा खोलामा डुबेर दुई किशोरको ज्यान गएको छ। शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–९, भट्टटोलका १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–६ स्थायी घर भई हाल सिद्धार्थनगर–७ बस्ने १५ वर्षीय दिनेश न्यौपाने रहेका छन्। दुबै जना तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमुना माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थी हुन्।
शनिबार दिउँसो करिब १:३० बजेतिर उनीहरू आफ्ना तीन साथीहरुसँग भैरहवाको पक्लिहवा क्याम्पस पछाडिको डण्डा खोलामा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा उनीहरू खोलाको गहिरो र दलदलयुक्त भागमा डुबेका थिए।
रुपन्देही प्रहरीका अनुसार सूचना पाएलगत्तै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो। खोजीका क्रममा दिउँसो करिब साढे ४ बजे उनीहरूलाई डण्डा खोलामा मृत अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता डिएसपी गणेश सापकोटाले जानकारी दिए।
दुवै जनाको शव हाल भैरहवास्थित भीम अस्पतालमा राखिएको छ। आज आईतबार पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ।
घटनाका साक्षी अन्य तीन किशोरसँग पनि प्रहरीले सोधपुछ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार गहिरो भागमा अचानक डुबेका प्रज्वल र दिनेशलाई बचाउने प्रयास गरे पनि नसकेर अन्य साथीहरू फर्किएको प्रहरीलाई बताइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।