बुटवल। बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध कर छलीको अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय बुटवलले उनीहरूविरुद्ध ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गर्दै अभियोग पत्र पेश गरेको हो ।
बुटवल उपमहानगरपालिका–५, न्यूरोडस्थित अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल नदिई वस्तु बिक्री गरेको, भन्सार चोरी पैठारी गरेको मालवस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको आरोप छ ।
राजस्व अनुसन्धान कार्यालयका अनुसार उनीहरूले भन्सार महसुलतर्फ ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि करतर्फ ९९ लाख ८९ हजार ९८४ र आयकरतर्फ २ करोड ८७ लाख ५२ हजार १४७ गरी कुल ४ करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबरको राजस्व छली गरेका छन् । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिएका छन् ।