बुटवल। मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल नक्कली लालपुर्जा जारी गरेको अभियोगमा पक्राउ परेका छन्।
सरकारी छापको दुरुपयोग गरी जाली लालपुर्जा बनाएको आरोपमा उनलाई भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवटसहित प्रहरीले शुक्रबार विहान नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले ग्लोबल आवाजसँग कुरा गर्दै सरकारी दस्तावेजमा किर्ते गरेको अभियोगमा दुवै जनालाई पक्राउ गरिएको पुष्टि गरे।
उनका अनुसार उनीहरुले सरकारी छाप र दस्तखत दुरुपयोग गर्दै नक्कली लालपुर्जाहरू बनाई वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। “प्रारम्भिक अनुसन्धानमा सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा तयार पारेको पाइएको छ,” डिएसपी सापकोटाले भने, “अब थप अनुसन्धानका लागि अदालतबाट म्याद थपिएको छ।”
हाल दुबै जना प्रहरी हिरासतमा रहेका छन् र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।