काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय साजन गुरूङ, ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका-१ घर भएका ३६ वर्षीय दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा नगपालिका-५ बस्ने दाङ घोराही उपमहानगरपालिका-१५ घर भएका ४७ वर्षीय टेक बहादुर केसी, ललितपुर महानगरपालिका-२३ बस्ने स्याङ्जा वालिङ नगरपालिका-७ घर भएका ५० वर्षीय भरत प्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने पर्वत विहादी गाउँपालिका-४ घर भएका ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् ।
पक्राउ मध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, टेक बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले साजन र टेक बहादुरलाई काठमाडौं महानगरपालिका-२६ बाट तथा दिपकलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार, भरत र प्रेमलाई ललितपुर महानगरपालिका-१५ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।