गाईजात्रामा बुटवलमा स्थानीय विदाको माग, नेवा पुचले बुझायो ज्ञापनपत्र

by समतल अनलाइन
137Shares

बुटवल।गाईजात्रा (सापारु) पर्वको अवसरमा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र एक दिनको स्थानीय सार्वजनिक विदा दिनुपर्ने माग गर्दै ( नेवा पुच) नेवा: समाज विकास परिषद, बुटवलले शुक्रबार नगर प्रमुख खेलराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ।

परिषदका अध्यक्ष काजीमान श्रेष्ठको नेतृत्वमा परिषदका पदाधिकारीहरूको उपस्थिति बीच नगर कार्यपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख पाण्डेलाई औपचारिक रूपमा मागपत्र हस्तान्तरण गरिएको हो।

ज्ञापनपत्रमा उल्लेख छ,“गाईजात्रा दिवंगत आफन्तजनको सम्झना, सांस्कृतिक परम्पराको निरन्तरता र सामाजिक एकताको पर्व हो। अहिले बुटवलमा यो पर्व सबै जातजातिले साझा रूपमा मनाउन थालेका छन्। त्यसैले उपमहानगरभित्र एक दिनको स्थानीय विदा दिनु समयसापेक्ष र उपयुक्त हुनेछ।”

परिषदले बुटवल नगरभित्र नेवार समुदायको उल्लेख्य उपस्थिति, पर्वको सांस्कृतिक महत्व र सामाजिक समावेशीकरणको दृष्टिले गाईजात्राको दिन स्थानीय विदा घोषणा गर्न आग्रह गरेको हो।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खेलराज पाण्डेले प्रतिनिधिमण्डलको मागप्रति सकारात्मक प्रतिक्रिया जनाए। उनले भने,
“नेवार समुदायको सांस्कृतिक पहिचान बुटवलमा महत्वपूर्ण छ। यो विषयलाई नगर कार्यपालिकाको बैठकमा छलफल गरेर सम्भव हुने निर्णय गरिनेछ।”

वि.सं. २०५६ (ने.सं. ११२०) मा स्थापना भएको श्री नेवा: पुच: (नेवा: समाज विकास परिषद) बुटवलले भाषा, संस्कृति, पर्व र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको संस्था हो।

ज्ञापनपत्रमा २०७८ सालदेखि संघीय सरकारले नेवार समुदायका लागि गाईजात्राको दिन विदा दिने निर्णय लागू गरिरहेको सन्दर्भ उल्लेख गर्दै, स्थानीय तहबाट पनि सांस्कृतिक चाडलाई मान्यता दिँदै विदा दिनु आवश्यक भएको तर्क गरिएको छ।

परिषदका अनुसार पछिल्ला वर्षहरूमा गाईजात्रा नेवार समुदाय मात्र नभई अन्य समुदायले समेत मनाउन थालेको, सहभागीता बढेको र सांस्कृतिक एकता बलियो बन्दै गएको छ। स्थानीय सरकारले यस्ता पर्वलाई आधिकारिक मान्यता दिँदै विदा दिने हो भने, समाजमा आपसी सम्मान, समरसता र सांस्कृतिक सहिष्णुता थप सुदृढ हुने विश्वास परिषदले व्यक्त गरेको छ।

Comments

You may also like