काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको जिकिर गरे ।
उनले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गरे । कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी उनको छ । हालसम्म पनि कम्युनिष्टमा षड्यन्त्र गर्नेकुराको अन्त्य हुन नसकेको बताए ।
‘षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ । जुन हालसम्म अन्त्य भएको छैन । नेपालमा कम्युनिस्ट आन्दोलन करिब करिब समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिस्ट आन्दोलनबाट लिभरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु’, उनले भने । अध्यक्ष यादवले एक समय सत्तापक्षमा, प्रतिपक्षमा र जंगलमा समेत कम्युनिष्ट रहेको टिप्पणी गरे ।