व्यापार घाटा ६ प्रतिशतले बढ्यो, भटमास र सनफ्लावर तेल निर्यातले भने दिएको आशा

by समतल अनलाइन
230Shares

काठमाडौं।आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार २० खर्ब नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सो अवधिमा कुल आयात १८ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.२५ प्रतिशतले वृद्धि हो।

गत वर्ष (२०८०/८१) मा कुल आयात १५ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यस वर्ष आयात वृद्धि भए पनि निर्यात पक्ष पनि उल्लेखनीय रुपमा बढेको देखिन्छ।
भन्सार विभागका अनुसार निर्यात ८१.८० प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निर्यात १ खर्ब ५२ अर्बमा सीमित थियो।

निर्यातमा उल्लेखनीय वृद्धिको प्रमुख कारण भारततर्फ भटमास र सनफ्लावर तेलको निर्यात बढ्नु हो।
भटमासको तेल मात्रै एक खर्ब ६ अर्ब ७९ करोड रुपैयाँ बराबर निर्यात भएको छ भने, सनफ्लावर तेलको निर्यात १२ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी रहेको छ।

यी दुई वस्तुले समग्र निर्यात वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको विभागले जनाएको छ।

हालको आर्थिक वर्षमा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। तर, सोही अवधिमा व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढी हो।

पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ थियो। निर्यातमा सुधार देखिए पनि आयात अझै अत्यधिक रहँदा घाटा कम हुन सकेको छैन।

समग्र मूल्यांकन

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सेदारी अझै कम छ। भटमास र सनफ्लावर तेल निर्यातमा वृद्धि सकारात्मक भए पनि यसलाई दीर्घकालीन सफलतामा रूपान्तरण गर्न नीति र रणनीतिमा स्थायीत्व आवश्यक देखिन्छ।

विशेषज्ञहरूका अनुसार मूल्यवर्द्धनयुक्त वस्तुहरूको उत्पादन तथा निर्यात प्रवर्द्धन गर्न सकेमा व्यापार घाटा सन्तुलनतर्फ उन्मुख हुन सक्नेछ।

You may also like

This will close in 0 seconds