काठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको वर्तमान राजनीति भ्रष्ट हुनुमा सबैभन्दा ठूलो दोष माओवादीको रहेको दाबी गरेका छन्।
मंगलबार आयोजित ४७औं पुष्पलाल स्मृति कार्यक्रममा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयमा बोल्दै उनले माओवादीले आफ्ना विचार र सिद्धान्त छोडेर सत्ता मोहमा लागेकै कारण आजको राजनीति दिशाहीन र भ्रष्ट भएको बताए।

“आज देश किन विकास भएन? सहकारीको पैसा कहाँ गयो? यसको जवाफ नेताहरूले दिनुपर्छ,” विप्लवले भने, “राजनीति बिग्रनुमा कार्यकर्ता होइन, नेताहरू जिम्मेवार छन्। र त्यसमा सबैभन्दा ठूलो त्रुटी माओवादीको छ।”
विप्लवले प्रचण्डसँग पार्टी नफुटाएर आफूहरूले विद्रोह गरेको स्मरण गर्दै भने, “हामीले फुटाएका होइनौँ, विद्रोह गरेका हौँ। माओवादी बिग्रँदै थियो, आँखा अगाडि देखेपछि म चुप लागेर बस्न सकिनँ।”
उनले नेपालको कम्युनिष्ट आन्दोलन अहिले ठुलो अलमलमा परेको बताउँदै अहिलेको राजनीतिक बहस शिथिल भएको र त्यसको फाइदा पुँजीवादी शक्तिहरूले उठाइरहेको टिप्पणी गरे।
“आजको युगमा युवालाई हिजोको शैलीमा मार्क्सवाद पढाएर काम चल्दैन,” विप्लवले भने, “राजनीति सत्तामा पुगेपछि भ्रष्टाचार गर्ने र सडकमा बसेर चन्दा उठाएर जनतालाई दुःख दिने प्रवृत्ति बढेको छ।”
विप्लवले नेपालको कम्युनिष्ट आन्दोलनमा विचार त मार्क्सवादको गर्ने तर व्यवहार पुँजीवादको गर्ने प्रवृत्तिलाई मुख्य समस्या बताए। उनले अहिलेको बहस कुनै नेता या पार्टीबीचको होइन, सिंगो कम्युनिष्ट आन्दोलनको भविष्यसँग जोडिएको बताए।
“हामीले मार्क्सवादलाई नयाँ ढंगले व्याख्या गर्ने समय आएको छ,” उनले भने, “कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गर्नका लागि गहिरो आत्मसमीक्षा आवश्यक छ।”