काठमाडौ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आइसकेको र अब पछि नहट्ने स्पष्ट संकेत गरेकी छन्। मंगलबार भंगालस्थित निवासमा पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा उनले नेकपा एमालेभित्र चलिरहेको अवस्थाबारे पनि तीव्र असन्तुष्टि पोखिन्।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा आफू पक्षधर नेताहरूलाई बोल्न नदिइएको आरोप अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइन्। उनले भनिन्, “मदन भण्डारीको हीरक जयन्ती मूल समारोह समितिमा पनि मैले ईश्वर पोखरेललाई संयोजक बनाउन अनुरोध गरेँ, तर अध्यक्ष ओलीले मानेनन्।”

उनका अनुसार ओलीसँग च्यासल पार्टी कार्यालयमा भएको भेटमा सदस्यता पेन्डिङमा रहेको विषयमा प्रश्न गर्दा ओलीले “राजनीतिक निर्णय गर्नुपर्छ” भनेर जवाफ दिएका थिए।
भण्डारीले एमालेमा आफ्नो योगदान २०३५/३६ सालदेखि रहेको बताउँदै अहिले निष्क्रिय भएर बस्ने मनसाय नरहेको स्पष्ट पारिन्। उनले भनिन्, “राष्ट्रपतिजस्तो पद निर्विवाद हुन्छ, राजनीतिमा लागेपछि गाली बढी हुनसक्छ भन्ने ओलीको भनाइ थियो, तर म अब अघि बढिसकेकी छु। फर्कने अवस्था छैन।”
यसअघि एमालेले केन्द्रीय कमिटीको बैठकमार्फत भण्डारीको राजनीतिक संलग्नता र सदस्यतासम्बन्धी निर्णय गर्ने तयारी भइरहेको खबर सार्वजनिक भएको थियो। भण्डारीको तर्फबाट भने पार्टीले रोक्ने निर्णय गरे त्यसको प्रतिक्रिया दिने भनाइ दिइएकी छिन्।
एमाले भित्र भण्डारीको सक्रियता र उनको ओलीप्रतिको आलोचनाले पार्टीको आन्तरिक समीकरण थप पेचिलो बन्न सक्ने संकेत देखिएको छ।