नवीन औद्योगिक कदर बहादुर रीता माविमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण

by समतल अनलाइन
Shares

बुटवल।नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, देवीनगरमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ। कार्यक्रम विज्ञान, सिभिल इन्जिनियरिङ्ग र कानुन समूहका नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले विद्यार्थीहरूको नेतृत्व विकास, व्यक्तित्व निर्माण, सामाजिकीकरण र जीवन उपयोगी सीप विकासमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले रुचि र लक्ष्यअनुसार विषय छनोट गरी लगनशीलताका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा उत्प्रेरणात्मक वक्ताका रूपमा सहभागी भएका देवदह मेडिकल कलेजका डा. आविष्कार पराजुलीले विद्यार्थीहरूलाई प्रभावकारी अध्ययनका उपाय, आमा–बुवा र शिक्षकको महत्व, साथी छनोटको सावधानी र कुलतबाट टाढा रहने विषयमा मार्गदर्शन गर्नुभयो। “यो उमेर नै बन्ने र बिग्रिने समय हो,” डा. पराजुलीले भन्नुभयो, “यसलाई सदुपयोग गर्न सिक्नुपर्छ।”

विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको समग्र अवस्थाबारे जानकारी दिनुभयो। सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचारसंहिता २०८२ का विषयमा सहजीकरण गर्नुभयो। कार्यक्रम कक्षा १२ विज्ञान समूहकी छात्रा आशिका दाहालको सञ्चालनमा सम्पन्न भएको थियो।

सो अवसरमा विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, नवीन विद्यार्थी क्लबका अध्यक्ष सुवास पौडेललगायतले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा महेन्द्र मा.वि. वामीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष शाक्यसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विद्यालयले व्यवस्थापन समूह अन्तर्गत होटल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरूका लागि साउन ५ गते अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री प्रमुख अतिथि रहनेछन्।
त्यसैगरी, साउन ६ गते व्यवस्थापन समूह अन्तर्गत कम्प्युटर, वित्तशास्त्र, अर्थशास्त्र, बजारशास्त्र विषयहरू तथा शिक्षा समूहका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ, जसमा शिक्षा विकास निर्देशनालय लुम्बिनी प्रदेशका निमित्त महानिर्देशक नारायण प्रसाद पोखरेल प्रमुख अतिथि रहने विद्यालयले जानकारी दिएको छ।

You may also like

This will close in 0 seconds