विश्व हिन्दु महासंघ रुपन्देहीद्वरा भानु जयन्तीमा साहित्यकार ठाकुर चन्द शर्मालाई नगदसहित सम्मान

by समतल अनलाइन
Shares

बुटवल ।आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार ठाकुर चन्द शर्मालाई ‘आदिकवि भानुभक्त पुरस्कार–२०८२ ’ सहित नगदसहित सम्मान गरिएको छ।
विश्व हिन्दु महासंघ रुपन्देही जिल्ला समितिको आयोजनामा बिहीबार (फागुन २ गते) महासंघको सभाहल बुटवलमा आयोजित विशेष कार्यक्रममा शर्मालाई नेपाली भाषा र साहित्यमा पुर्‍याएको दीर्घ योगदानको कदर गर्दै सम्मान गरिएको हो।

सिद्धार्थनगर–८ निवासी शर्मा लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील रहँदै समाजमा सशक्त सन्देश प्रवाह गर्दै आउनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रा. डा. ऋषिराम आजाद आचार्यले आदिकवि भानुभक्तले राखिदिएको भाषिक जगलाई आजका साहित्यकारहरूले अझ बलियो बनाउँदै लाने उल्लेख गर्दै भन्नुभयो,

“भानुभक्तले नेपाली भाषा सबैका लागि सहज र साझा बनाइदिनुभयो। आजका दिनमा साहित्यकार ठाकुर चन्द शर्माजस्तो सिर्जनशील व्यक्तित्वलाई सम्मान गर्नु भानु परम्पराको निरन्तरतासँग जोडिएको काम हो।”

कार्यक्रमको अध्यक्षता महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले गर्नुभएको थियो। उहाँले भन्नुभयो,

“भाषा, धर्म र संस्कृतिको संरक्षण सँगै त्यसमा योगदान दिने व्यक्तिहरूप्रति सम्मान गर्नु हाम्रो कर्तव्य हो। यस्ता सम्मानले समाजमा सृजनशीलता र पहिचानको भावना बढाउँछ।”

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वेदबहादुर पौडेल क्षेत्रीको उपस्थिति रहेको थियो। उहाँले भानु जयन्तीले नेपालीको सांस्कृतिक पहिचानलाई झल्काउने गौरवमय दिन भएको उल्लेख गर्नुभयो।

सचिव कमलकान्त पौडेल, नगर समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, कोषाध्यक्ष अनुपमान सैजु, महिला समिति अध्यक्ष अम्बिका पौडेल क्षेत्री, महिला शाखा सचिव लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।

स्वागत मन्तव्य महिला समिति अध्यक्ष अम्बिका पौडेल क्षेत्रीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासंघ रुपन्देहीकी कार्यालय सचिव उर्मिला श्रेष्ठले गर्नुभएको थियो।

भजन–कीर्तन र सत्सङ पनि सम्पन्न
सोही दिन महासंघको सभाहलमा २०५९ औँ नियमित सत्सङ तथा भजन–कीर्तन कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
भजन–कीर्तन कार्यक्रम विश्व हिन्दु महासंघ रुपन्देही जिल्ला समिति, महिला समिति र बुटवल नगर समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा साहित्य, धर्म र सामाजिक सेवामा लागेका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले नेपाली भाषा, साहित्य र सनातन संस्कृतिको सम्वर्द्धनमा योगदान दिने स्रष्टाहरूप्रति कृतज्ञता प्रकट गर्नुका साथै आगामी पुस्तालाई प्रेरणा दिने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन्।

महासंघका अनुसार आगामी दिनहरूमा भानु जयन्तीलाई अझ व्यवस्थित, सशक्त र राष्ट्रिय स्तरमा विस्तार गरी मनाउने तयारी भइरहेको छ।

You may also like