काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चबाट निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझ्दै प्रचण्डले भने, ‘यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन ।’
उनले भने, ‘जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं । तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला ।’ प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको बताए । उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको स्मरण गराए ।

प्रचण्डले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको बताएका छन् । ‘मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन,’ उनले भने, ‘प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ ।’
जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू प्रचण्ड समक्ष पेश गरेको छ ।