सरकार भ्रष्टाचारमा लिप्त भइरहे सडकबाट प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

by समतल अनलाइन
Shares

ललितपुर । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश जटिल मोडमा रहेको बताएका छन् । आज (बिहीबार) ललितपुरमा श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको बताएका हुन् ।

अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै प्रचण्डले वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको र सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको बताए । जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो योगदान जोड्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘अहिलेको सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही पनि छैन । सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको छ । हामी सबैले जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नु पर्छ ।’ अध्यक्ष प्रचण्डले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरुविरुद्ध सफलता हासिल गर्न सकिने बताए । आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरीत गए सरकारको प्रतिवाद सडकबाट गर्ने चेतावनी पनि दिए ।

You may also like