प्युठान । प्युठानमा पूर्व पत्नीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणि बरालको हत्या आरोपमा उनका पूर्वपति लीलबहादुर बराललाई प्रहरीले पक्राउ गरेको हो। ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लीलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालले जानकारी दिए । आफन्तको घरमा रहेकी रुक्मणिलाई लीलबहादुरले चक्कु प्रहार गरेर हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डीएसपी बस्यालका अनुसार रुक्मणि आफ्नी जेठानी डिला परियारको घर गएकी थिइन् । डिलाका अनुसार लीलबहादुरले रुक्मणिलाई घरमै चक्कु प्रहार गरेका हुन् । आफूहरू कुरा गरिरहेको समयमा घरभित्र पसेका उनले रुक्मणिलाई चक्कु प्रहार गरेका डिलाले बताइन् । ‘मैले कराएँ, नहान्नु भनेँ, तर सुनेन । आँखै अगाडि छुरा प्रहार गरे । हारगुहार गर्दा पनि केही उपाय लागेन,’ डिलाले भनिन् ।


इजरायलमा रोजगाररत लीलबहादुर यही असार २४ गते मंगलबार मात्रै घर फर्केका थिए । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी इन्स्पेक्टर निरञ्जन रिजालका अनुसार आफू विदेशमा रहेको समयमा अर्को विवाह गरेपछि लीलबहादुरले रुक्मणिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘दुई छोराछोरीलाई छाडेर अर्को विवाह गरेको आवेगमा उनले हत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
रुक्मणिले लीलबहादुरलाई छाडेर गत वैशाखमा गोठेरीका २७ वर्षीय दीपक परियारसँग विवाह गरेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार दीपक भने कामको सिलसिलामा १५ दिनअघि संखुवासभा गएका छन्। रुक्मणि र लीलबहादुरका एक छोरा र एक छोरी छन् । आमाको हत्या र बुवाको गिरफ्तारीसँगै उनीहरू बिचल्लीमा परेका छन् । ‘६ वर्ष र साढे ३ वर्षको बच्चालाई अब के गर्ने भन्ने छ । आमाको मृत्यु भइसक्यो, बाबु जेल जाने नै भए ’, डीएसपी बस्यालले भने । उनीहरूको पालन पोषण र पढाइको चिन्ता थपिएको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले लीलबहादुरलाई नियन्त्रणमा लिएको डीएसपी बस्यालले जानकारी दिए । लीलबहादुरले रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले बताए । डीएसपी बस्यालले प्रारम्भिक अनुसन्धानअनुसार यो पूर्व वैवाहिक रिसईबीको कारण भएको देखिएको बताए ।
इजरायलबाट तीन वर्षपछि घर फकँदा रुक्मणीले अर्कै बिहे गरेको र फर्काउन कोशिस गर्दा नमानेको साथै डिभोर्स पनि नदिएकाले श्रीमतीको हत्या गरेको लीलबहादुरले बयान दिएका छन् । ‘म कमाउन विदेश जाने उ यहाँ अर्कैसँग रमाउने ? बालबालिका सानै थिए, म फर्केपछि पनि सँगै बसौं भनें तर मानिन । डिभोर्स दिन पनि मानिन, अनि मेरो विकल्प केही नभएर हत्या गरेको हुँ,’ लीलबहादुरले प्रहरीलाई बयान दिएको बस्यालले बताए ।