बुटवल । बुटवल उपमहानगरपालिका–१० स्थित कालिकानगरमा स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ। सोमबार बिहान साढे ५ बजेतिर भएको उक्त दुर्घटनामा परी पाल्पाको पूर्वखोला गाउँपालिका–४ का ५७ वर्षीय पूर्ण श्रेष्ठको मृत्यु भएको हो।
श्रेष्ठ हाल बुटवल–१० कालिकानगरस्थित दिदीको घरमा बस्दै आएका थिए। मिर्गौलाका बिरामी उनी नियमित डायलाइसिस गराउन अस्पताल जाँदै गर्दा दुर्घटनामा परेका थिए।


लु १९ प २६९७ नम्बरको स्कुटरमा सवार श्रेष्ठ कालिकानगरस्थित सर्भिसलेनमा पुग्दा सडकमा रोकिने गरि राखिएको ना २ ह ७५३ नम्बरको अटोरिक्सासँग ठोक्किएका थिए। ठक्करपछि स्कुटर पल्टिँदा घटनास्थलमै उनको ज्यान गएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक विष्णु बहादुर बस्नेतले जानकारी दिए।
दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले श्रेष्ठलाई मृत अवस्थामा फेला पारेर लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि लगेको जनाएको छ।
दुर्घटनापछि प्रहरीले नजिकैको सीसीटीभी फुटेज जाँच गर्दा स्कुटर अटोरिक्सासँग ठोक्किएको पुष्टि भएको छ। त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका–२ मैनाबगरमा लुकाएर राखिएको अवस्थामा अटोरिक्सा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए।
हाल अटोरिक्सा र स्कुटर दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अटोरिक्साको चालक भने फरार छन्। चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।