काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छिन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गरेकी हुन् । उनले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाल राजनीतिक संरक्षण दिइएको आरोप लगाइन् । उनले २०७८ साल फागुनमा बनेको भिजिट भिसा सम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाइन् । उनले २०७८ मा बनेको प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन कुनामा थन्किएको छ ? भन्दै प्रश्न गरिन् ।
उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरिन् । उनले सुशासन आयोगका अध्यक्ष समेत रहेएका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहो¥याइन् । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री समेत पोलिएको र संघीय मामिलामन्त्रीको अडियोको समेत निष्पक्ष छानबिन गर्न माग गरिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी अडिओबारे संसदमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रश्न उठाएको हो । भूमि आयोगको कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि आइतबार प्रतिनिधि सभामा रास्वपा सांसद सुमना श्रेष्ठले त्यसबारेमा प्रश्न उठाएकी हुन् । उनले सरकार भूमि विधेयक फास्ट ट्रयाकबाट किन पास गर्न खोज्दै छ भन्ने विषय पनि अडिओ सार्वजनिक भएपछि खुलेको बताइन् ।


‘कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे र जिल्लाको भूमि आयोगको अध्यक्षमा सेटिङ ? किन भूमि विधेयक फास्ट ट्रयाकबाट पास गर्न खोजिएको भन्ने बुझ्यौं । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन !,’ उनले भनिन् । सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न सांसद श्रेष्ठले माग गरेकी छन् । ‘अडिओमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो ? कसको प्रश्रय ? कस्तो तागत ? कस्तो संस्कार ? के फरक भयो यी सबै वर्ष ? जनताले के पाए ? संसदीय समिति त चाहिन्छ चाहिन्छ,’ उनले भनिन् ।