बुटवल। रुपन्देहीको सियारी गाउँपालिकामा बिहीबार ४७६ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ।
विगत लामो समयदेखि बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका वडा नं. १, २, ३, ४ र ५ का स्थानीयलाई भूमि समस्या समाधान आयोग, नापी कार्यालय र गाउँपालिकाको संयुक्त पहलमा लालपूर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो।


कार्यक्रम सियारी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो।
जग्गाधनी प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले सुकुम्बासी समस्या दीगो रूपमा समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै, यस्ता कामको निरन्तरताको आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी, भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा मगरले अभियान कञ्चन गाउँपालिकाबाट सुरु भई सियारी हुँदै जिल्लाका अन्य पालिकासम्म विस्तार गर्ने योजना रहेको बताउनुभयो। “अब क्रमशः अन्य पालिकाका बासिन्दाहरूलाई पनि लालपूर्जा वितरण गर्दै जानेछौँ,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रमुख अतिथिहरूले स्थानीय प्रेमबहादुर दर्जीलाई पूर्जा हस्तान्तरण गर्दै वितरण कार्यको औपचारिक सुरुवात गर्नुभएको थियो। पूर्जा पाएपछि दर्जीले भावुक हुँदै प्रतिक्रिया दिँदै भने, “वर्षौंको पिरती, आज लालपूर्जाले तृप्त भयो। यस्तो अभियान दीगो रूपमा अघि बढ्नुपर्छ।”
त्यस अवसरमा सियारी गाउँपालिकाका उपाध्यक्ष तारा थारुले गाउँपालिकाको समग्र विकास, सुकुम्बासी समस्या समाधान र आगामी योजना बारेमा जानकारी गराउँदै स्थानीय सरकार सदैव जनताको साथमा रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, पूर्जा प्राप्त गर्ने स्थानीयवासी तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो।