तिलोत्तमा । तिलोत्तमा नगरपालिका–५ का मुख्य सडकहरूमा अहिले स्ट्रिट बोर्ड जडान कार्य तीव्र रुपमा अघि बढाइएको छ। वडा कार्यालयले वडा भित्रका सबै सडकहरूमा स्ट्रिट बोर्ड राख्ने योजनाअन्तर्गत हालसम्म २० वटा सडकमा बोर्ड जडान गरिसकेको छ।
वडा अध्यक्ष रमेश डुम्रेले भने, “वडाको केन्द्र मणिग्राम आसपास सिद्धार्थ राजमार्गसँग जोडिएका २० वटा सडकमा स्ट्रिट बोर्ड राखिसकिएको छ। अहिले बाँकी सडकहरूमा पनि आगामी वर्ष बोर्ड राख्ने तयारी छ। यसले ठेगाना पहिचान गर्न सजिलो हुन्छ र वडा व्यवस्थित बन्छ भन्ने हाम्रो लक्ष्य हो।”


उनका अनुसार वडा नं. ५ मा २७ वटा सहायक सडकहरू राजमार्गसँग जोडिएका छन् भने १२७ वटा भित्री सडक छन्। यी सबैमा बोर्ड जडानको योजना छ।
वडाको सुरक्षा र पूर्वाधार सुधारमा पनि वडा कार्यालयले सक्रियता बढाएको छ। वडा सदस्य हरि पन्थले जानकारी दिँदै भने, “यसै आर्थिक वर्षमा सर्भिस लेन क्षेत्रमा एलईडी बत्ती जडान गरेका छौं। चोकचोकमा यात्रुहरूको लागि विश्रामस्थल र तातो–चिसो पानीको सुविधा पनि मिलाएका छौं।”
उनका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन वडाका प्रमुख स्थानहरूमा सीसीटीभी क्यामेरा जडानको प्रक्रिया पनि अघि बढाइएको छ।
“हामी वडालाई व्यवस्थित, सुरक्षित र नागरिकमैत्री बनाउन चाहन्छौं,” सदस्य पन्थले थपे। स्थानीय तह र नागरिकबीचको समन्वयमार्फत तिलोत्तमा–५ लाई नमुना वडाका रूपमा विकास गर्ने लक्ष्यसहित यी पूर्वाधार योजनाहरूलाई प्राथमिकतामा राखिएको वडा कार्यालयले जनाएको छ।