आफू पक्षका नेता पार्टीबाट निकालिएपछि शेखर कोइरालाले बोलाए बैठक

by समतल अनलाइन
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन् । पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफू पक्षका परेको भन्दै रुष्ट कोइरालाले बिहीबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । बैठक उनकै सम्पर्क कार्यालय विशालनगरमा बस्नेछ ।

‘आफू पक्षीय केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई शेखर दाइले बोलाउनु भएको छ,’ उनी निकट स्रोतले भन्यो, ‘बैठकमा अनुशासन समितिको कारबाहीको विषयमा कुरा हुने भनिएको छ । बाँकी भोलि नै थाहा हुन्छ ।’ अनुशासन समितिले लुम्बिनीका महामन्त्री, खोटाङका जिल्ला सभापति र कास्कीका निवर्तमान जिल्ला सभापतिसहित १८ नेतालाई एक वर्षका लागि पार्टीबाट निष्काशन गर्ने गरी कारबाही गरेको छ ।

लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी शेखर समूहका नेता हुन् । यीबाहेक कारबाहीमा परेका अधिकांश नेताहरू शेखर समूहकै रहेको उनीहरूको दाबी छ । यसअघि हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि शेखरले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाएका थिए ।

केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपबाट कारबाहीको डन्डा चलाएको हो । पार्टीका उम्मेदवारलाई पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडिओ÷भिडिओ लगायत अनेकन हत्कण्डा प्रयोग गरिएका प्रमाणहरूका आधारमा पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन÷निलम्बन गर्ने निर्णय गरिएको अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताएका छन् ।

You may also like

This will close in 0 seconds