बुटवल।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले २०८४ साल भित्र देशभरका सबै भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने लक्ष्यसहित योजनाबद्धरूपमा काम अघि बढाएको बताएका छन्। आइतबार रुपन्देहीको कञ्चन गाउँपालिका–५ गरगरेमा आयोजित कार्यक्रममा ४५१ जनालाई लालपूर्जा हस्तान्तरण गर्दै उनले यो कार्य सरकारको विशेष प्राथमिकतामा रहेको स्पष्ट पारे।
उनका अनुसार भूमिहीन नागरिकलाई जग्गा स्वामित्व दिनु वर्तमान सरकारको गम्भीर अठोट हो र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा यो अभियान तीव्र गतिमा अघि बढिरहेको छ। “अब यो कञ्चनको मात्र कुरा होइन, सम्पूर्ण देशभर रहेका भूमिहीनलाई ०८४ साल नपुग्दै सम्पत्तिको मालिक बनाइनेछ,” पौडेलले भने, “सरकारले जुन वाचा गरेको थियो, त्यो अब कार्यान्वयनमा परिणत हुँदैछ, ढुक्क भएर बस्नुस्।”
पौडेलले निर्वाचनको बेला भूमिहीन नागरिकसँग गरिएको प्रतिबद्धतालाई स्मरण गर्दै त्यसैअनुसार काम अगाडि बढाइएको बताए। “त्यतिबेला हामीले भनेका थियौं– सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाइन्छ। त्यो वेला भावना थियो कि भन्ने शंका पनि भयो, तर अब त्यो सपना व्यवहारमा परिणत हुँदैछ,” उनले प्रष्ट पारे।
भूमि समस्या समाधान आयोगले देशव्यापी रूपमा तीव्र गतिमा काम गरिरहेको जानकारी दिँदै मन्त्री पौडेलले आयोगलाई स्रोत, साधन र जनशक्ति अभाव नहोस् भनेर सरकारले सम्पूर्ण व्यवस्थापन गरिसकेको बताए। “काठमाडौँदेखि कञ्चनसम्म, सबै तहका सरकारहरूबीच सहकार्यमा काम भैरहेको छ,” उनले भने, “अब चिन्ता होइन, समाधानको युग सुरु भएको छ।”
उनले आयोगमार्फत वितरण प्रक्रिया सुरु भइसकेको र जसले अझै पाएका छैनन्, ती सबै प्रकृयामा रहेको पनि जानकारी दिए। “धेरैले पूर्जाको विषयमा सोधिरहनु भएको छ, त्यो स्वाभाविक हो। जसले पाउनुभयो, उहाँहरूलाई बधाई। जो पर्खिरहनु भएको छ, प्रक्रियामा हुनुहुन्छ, अब पालो आउनेछ,” उनले भने।
कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले वर्तमान सत्तागठबन्धनको स्थायित्व २०८४ सालसम्म कायम रहने विश्वास पनि दोहोर्याए। ०७९ को निर्वाचनबाट स्पष्ट बहुमत नआएको, संसद्ले दीर्घकालीन स्थायित्व दिन नसकेको, र अन्य गठबन्धनहरू असफल भएपछि देशलाई स्थायित्व दिने उद्देश्यले अहिलेको सरकार बनेको बताउँदै उनले भने, “अब सरकार विकास र समाधानको कार्यसूची लिएर अघि बढेको छ, यो सरकार टिकाउ र विश्वासिलो छ।”
उनले सकारात्मक सोच लिएर सबै नागरिकलाई साथ दिन आग्रह गर्दै भने, “देश विकासको मोडमा छ, जनताको साथ र विश्वास आजको सबैभन्दा ठूलो शक्ति हो। भूमिहीनको पीडा बुझेर समाधान दिने सरकार यही हो।”
कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, रुपन्देही क्षेत्र नं. ५ का सांसद बासुदेव घिमिरे, पूर्व सांसद भरत शाह, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललगायतको उपस्थिति थियो। वक्ताहरूले भूमिहीनको स्थायी समाधानका लागि आयोग र सरकारबीचको समन्वयपूर्ण प्रयासको प्रशंसा गर्दै सामाजिक न्याय सुनिश्चित गर्ने दिशातर्फ यो पहल ऐतिहासिक भएको उल्लेख गरे।
सरकारले ल्याएको ‘एक घर एक लालपूर्जा’ अभियानले हजारौं परिवारलाई पहिलोपटक जग्गाको कानुनी अधिकार दिलाएको भन्दै कार्यक्रमस्थलमा स्थानीय बासिन्दा निकै उत्साहित देखिन्थे। केही लाभग्राहीले प्रमाण–पूर्जा हातमा लिएपछि आँखामा आँसु झार्दै भने, “हामीलाई पहिलोपटक लाग्यो, सरकार हामीलाई पनि सम्झन्छ रहेछ।”
भूमिहीन समस्या समाधानमा सरकारले दिएको प्राथमिकता, आयोगको सक्रियता, र राजनीतिक प्रतिबद्धताको संगमले अब देशभरका पीडित नागरिकहरू राहतको अनुभूति गर्न थालेका छन्। यही आधारमा उपप्रधानमन्त्री पौडेलले यो अभियानलाई ‘राष्ट्र निर्माणको जग’को रूपमा लिइएको बताए। “जनताको मालिकत्व सुनिश्चित नगरी समृद्धि सम्भव छैन,” उनले जोड दिए।