रुपन्देही । बाँकेको बैजनाथ गाउँपालिकामा टीभी हेर्न नदिएको रिसमा छोराले बाबुको हत्या गरेका छन् । बैजनाथ गाउँपालिका–२ मकैबारीका ३२ वर्षीय भविलाल रोकाले शनिबार राति ६० वर्षीय बुवा टोपबहादुर रोका क्षेत्रीको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
राति टीभी हेरिरहेका बेला बुवाले रोकेपछि रिसाएर धारिलो हतियार प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । घटनापछि राति नै छिमेकीले खबर गरेर घरमा प्रहरी पुगे पनि भविलाल फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बाबु–छोराको सामान्य विवादमा हत्याको घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।


‘घरका अन्य सदस्य र छिमेकीहरुसँग बुझ्दा बुवाले टीभी हेर्न रोकेपछि रिसाएर हतियारले हानेको कुरा छ । स्थानीयले सूचना दिएसँगै प्रहरी तत्काल घटनास्थल पुगेको थियो, तर भविलाल फरार भइसकेका थिए, प्रहरीले खोजी जारी राखेको छ’, उनले भनिन् । भविलाल अविवाहित हुन् । लागूऔषध सेवनकर्ता उनी दुई पटक सुधार केन्द्रमा बसेर फर्किएको बैजनाथ गाउँपालिका–२ का अध्यक्ष राजु रुचालले जानकारी दिए । स्थानीयका अनुसार मृतक टोपबहादुरका दुई छोरा र दुई छोरी छन् । जेठो छोरा बिहेपछि अलग्गै बसेका छन् ।