पाल्पामा प्राकृतिक विपद् न्यूनीकरणका लागि रातको सवारीमा रोक

by समतल अनलाइन
Shares

बुटवल। पाल्पा जिल्लामा आगामी दिनमा सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

गत वर्षको जस्तै यस वर्ष पनि मनसुन अवधिभर रातको समयमा सवारी साधन सञ्चालन नगर्न अनुरोध गरिएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा जारी विज्ञप्तिमा जल तथा मौसम विभागले यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरेको जनाउँदै जोखिमयुक्त सडकहरूमा दुर्घटनाको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रातको समयमा माथिबाट ढुंगा, माटो खस्ने सम्भावना भएकाले यात्रु, मालवाहक, निजी र सार्वजनिक सवारी साधनलाई रात्रीकालीन समयमा सञ्चालन नगर्न अनुरोध गरिन्छ ।’ रात्रीकालीन आवागमनमा रोक लगाइएका प्रमुख सडक खण्डहरू सिद्धबाबा-राम्दी सडकखण्ड, तानसेन-रिडी-तम्घास सडक, हार्थोक, छहरा, तिनगिरे, आर्यभञ्ज्याङ, ताहु-रामपुर सडकखण्ड रहेका छन् ।

समितिले सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई सूचनाको पूर्ण पालना गर्न र विपद् न्यूनीकरणमा सहकार्य गर्न आग्रह गरेको छ । स्थानीय प्रशासनले आवश्यक निगरानी र व्यवस्थापनका लागि तयारी अवस्थामा रहने जनाएको छ । यसअघि पनि मनसुन सुरु भएपछिको समयमा पाल्पाका पहाडी सडकखण्डहरूमा पहिरो जाँदा सवारी अवरुद्ध हुने, दुर्घटना हुने, यात्रु अलपत्र पर्ने जस्ता घटनाहरू भइरहेका थिए । विशेष गरेर सिद्धबाबा सडकखण्ड अत्यधिक जोखिमयुक्त मानिएको छ जहाँ प्रत्येक वर्ष मनसुनको समयमा दुर्घटना हुने गरेको छ ।

यस्ता जोखिमलाई मध्यनजर गर्दै यसपालि समयमै सतर्कता अपनाइएको हो । जिल्ला प्रशासन कार्यालयले विभिन्न सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रसलगायतका संघसंस्थाहरूलाई तयारी अवस्थामा राखेको छ भने उद्धार र राहतका लागि आवश्यक सामग्रीहरू समेत तयारी अवस्थामा राखिएको जनाएको छ । यस निर्णयले यात्रु तथा चालकको सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ भने जोखिम न्यूनीकरणका लागि सबै पक्षको सहयोग अपेक्षित गरिएको छ । यातायात व्यवसायीहरू पनि यात्रु सुरक्षालाई प्राथमिकता दिनुपर्ने पक्षमा रहेकाले रात्रीकालीन रोकलाई आवश्यक सावधानीका रूपमा लिइरहेका छन् । प्रशासनले सवारी साधनलाई दिनको समयमा मात्र सञ्चालन गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

You may also like

This will close in 0 seconds