‘मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

by समतल अनलाइन
Shares

काठमाडौं । हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चित बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राति निधन भएको उनीसँग ‘उल्टो सुल्टो’ लगायतका सिरियलमा काम गरेकी सुशीला निरौला (विमली) ले जानकारी दिएकी छन् ।

स्तन क्यान्सरलगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन् । दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो । त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित घरमै थलिएकी थिइन् ।

बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन् । उनलाई भेट्न सीताराम कट्टेल धुर्मुससहित कुञ्जना घिमिरे सुन्तली घरमै पुगेका थिए । अन्य कलाकारहरुले समेत उनलाई भेट्न पुगेका थिए । ‘मेरी बास्सै’ मा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्ने खड्काजीको श्रीमती (अप्सरा आमा) को भूमिकामा देखिएकी थिइन् । छुच्चो भूमिकामा अभिनय गरेकी अप्सरा आमा र खड्काजीको जोडीलाई निकै रुचाइएको थियो । लक्ष्मीले जिरे खुर्सानी, कान्छीसहित थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छिन् ।

You may also like

This will close in 0 seconds