सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मुर्गियामा रहेको प्रभात इङलिश बोर्डिङ स्कुलले जिपिए फोर ल्याउने विद्यार्थीलाई ६० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
स्कुलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बुधबार आयोजना गरेको सम्मान कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
प्रभातका दुई विद्यार्थी सञ्चित घिमिरे र विनय भुसालले यो बर्ष एसईईमा जिपिए फोर नतिजा ल्याउन सफल भएका हुन । त्यसैगरी पाँचजना विद्यार्थीको ३ दशमलब ९ जिपिए भन्दा माथि आएको छ ।
स्कुलका प्रिन्सिपल अनन्तराम शर्माले अव हरेक बर्ष स्कुलले जिपिए फोर ल्याउने विद्यार्थीलाई जनही ६० हजार नगदसहित पुरस्कृत गर्ने घोषणा गर्नुभयो । त्यसैगरी उहाँले ३ दशमलव ९ जिपिएभन्दा माथि ल्याउने विद्यार्थीहरुलाई पनि जनही २५ हजारका दरले हरेक बर्ष पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो ।


विद्यार्थीहरुको मनोबल बढाउन तथा उनीहरुमा थप अध्ययनका लागि प्रोत्साहन दिन यो घोषणा गरिएको प्रिन्सिपल शर्माको भनाई छ ।
यसैबीच प्रभात इङलिश बोर्डिङ स्कुलले बुधबार एसईईमा उत्कृष्ट नतिजा दिने विद्यार्थीहरुका लागि आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्कुलको शैक्षिक वातावरण तथा शिक्षकहरुको प्रभावकारी अध्यापन, विद्यार्थीहरुको अथक मेहनत र लगनशीलताकै कारण यो नतिजा आएको बताउँदै आगामी दिनमा समेत यो नतिजालाई यथावत कायम राख्दै अझै उत्कृष्ट नतिजा दिन स्कुललाई शुभकामना तथा बधाई दिनुभयो ।
उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै थप शैक्षिक सफलताको शुभकामना दिनुभयो ।
सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम शर्माले स्कुलले पहिलेदेखि नै उत्कृष्ट नतिजा दिएका कारण प्रभात यस क्षेत्रकै लोकप्रिय स्कुल बनेको बताउँदै आगामी दिनमा पनि स्कुलले यो नतिजालाई अझै उत्कृष्ट बनाउँदै लैजान सुझाव दिनुभयो ।
कार्यक्रममा स्कुलकी प्रमुख कार्यकारी अधिकृत मिना भण्डारीले स्कुल परिवार, विद्यार्थी, शिक्षक र अभिभावक लगायत सवैको मेहनत, लगनशीलता र समर्पणकै कारण यो नतिजा आएको बताउँदै प्रभातको उत्कृष्ट नतिजाले पढाईको अब्बलता प्रमाणित गरेको उल्लेख गर्नुभयो ।
फोर जिपिए ल्याउने विद्यार्थी संचित घिमिरेले स्कुलको पारिवारीक वातावरणकै कारण आफूहरुले एसईईमा उत्कृष्ट नतिजा दिन सफल भएको बताए ।
स्कुलका प्रिन्सिपल अनन्तराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक रुद्र पोखरेलले पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत स्कुलका शिक्षक तुलसीप्रसाद लम्सालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षक चन्द्र पन्थीले गर्नुभएको थियो ।