काठ। देशभर मनसुनी प्रभाव सक्रिय भइरहँदा मौसम पूर्वानुमान महाशाखाले सम्भावित जोखिमप्रति सतर्क रहन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास छ, जसका कारण सुदूरपश्चिममा सामान्यतया बदली र अन्यत्र आंशिकदेखि मुख्यतः सफा मौसम देखिएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हाल हल्का वर्षा भइरहेको जानकारी दिइएको छ। दिउँसोसम्म देशका अधिकांश पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीको स्थिति देखिनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना प्रबल रहेको छ।
यसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उता उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि विशेष सतर्कता अपनाउन आग्रह गर्दै वर्षाको प्रभावले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने उल्लेख गरेको छ। शहरी र तराई क्षेत्रहरूमा डुबानको सम्भावना समेत रहन सक्ने देखिएकाले सावधानी अपनाउन भनिएको छ।
साथै ठूला–साना नदी, नाला र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी आसपासका बस्ती, कृषि कार्य, निर्माण स्थल, सडक यातायात र हवाई उडान समेत प्रभावित हुनसक्ने बताइएको छ। यस्तो अवस्थामा आम नागरिक र सरोकारवालालाई आवश्यक सतर्कता र पूर्वतयारीका साथ सुरक्षित रहन महाशाखाले विशेष आग्रह गरेको छ।