म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ र ४ सिमानामा अवस्थित ओखरबोट तामाखानी उत्खननका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एम-एस दोङयी मिनरल्स प्रालिले खानीको खोजतलास र सम्भाव्यता अध्ययन अघि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने प्रक्रिया थालेको हो।
स्थानीयवासी र सरोकारवालाको सुझाव संकलनका लागि कम्पनीले गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइसमेत सम्पन्न गरेको छ। साथै, मंगलबारदेखि सात दिने सार्वजनिक सूचना जारी गर्दै प्रभावित क्षेत्रका बासिन्दा तथा संघसंस्थाबाट लिखित सुझाव माग गरिएको छ।
मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले तामाको मात्रा पहिचान, उत्खननको सम्भाव्यता, सम्भावित वातावरणीय असर र त्यसको न्यूनीकरणबारे अध्ययन गर्नेछ। खानी क्षेत्रमा स्थलगत अध्ययनका लागि पुगेका भूगर्भविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएपछि खानीमा थप खोज र अनुसन्धान थालिने जानकारी दिए।
उनका अनुसार खानीको सम्भाव्यता अध्ययनपश्चात् मात्रै दोस्रो चरणमा वास्तविक उत्खनन प्रक्रिया सुरु हुनेछ।
ओखरबोटको खानी ऐतिहासिक रूपमा तामा निकाल्ने स्थानका रूपमा परिचित रहँदै आएको छ। मालिका गाउँपालिका–३ का ७२ वर्षीय विसराम पटेलका अनुसार विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी खानीबाट तामा निकाल्ने गरिन्थ्यो। तर प्रविधिको अभाव र आम्दानीभन्दा बढी कर तिर्नुपर्ने बाध्यताका कारण खानी बन्द गरिएको उनले स्मरण गरे।
पटेलका अनुसार त्यसबेला खानीमा दैनिक दुई सयभन्दा बढी कामदार खटिन्थे र सात/आठ धार्नी तामा दैनिक निकालिन्थ्यो। ओखरबोटमा रहेका दुईवटा तामाखानीका सुरुङहरू अझै प्रस्ट देखिन्छन्, जसको लम्बाइ २५० मिटरदेखि ५०० मिटरसम्म रहेको छ।
खानी उत्खननको प्रक्रिया अघि बढाउन थालिएकोमा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूले वातावरणीय सुरक्षा, विपद् न्यूनीकरण, स्थानियलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। साथै, खानी सञ्चालनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यस खानीको उत्खनन सफल भएमा म्याग्दी मात्र नभई गण्डकी प्रदेशकै खनिज स्रोत परिचालन र रोजगारी सिर्जनामा ठूलो टेवा पुग्ने विश्लेषण गरिँदैछ। अहिलेको अध्ययनले सकारात्मक प्रतिवेदन दिएमा ओखरबोट फेरि तामा उत्पादनको ऐतिहासिक गन्तव्य बन्ने सम्भावना छ।